शिक्षा क्षेत्रको विकास र विद्यार्थीलाई प्रोत्साहन गर्दै वडा सरकार

 ८ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले कक्षा ११ मा अध्ययन गर्ने छात्राहरूलाई विद्यालय पोसाक उपलब्ध गराउने भएको छ। आज बसेको वडा समिति बैठकले वडा नम्बर ११ अन्तर्गत रहेका अमर माध्यमिक विद्यालय उरहरी र शान्ति माध्यमिक विद्यालय नवलपुरमा यस वर्ष कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने छात्राहरूलाई वडाको तर्फबाट विद्यालय पोसाक उपलब्ध गराउने निर्णय गरेको हो ।

वडाले छात्राहरुलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए । आर्थिक अभावका कारण पढाइमा समस्या नहोस् भन्ने उद्देश्यसहित छात्राहरूलाई सहयोग गर्न लागिएको बताईएको छ । आगामी दिनमा शिक्षा क्षेत्रको विकास र विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष रावतको भनाई छ।

यसैबीच, हालै सार्वजनिक भएको एसईई परीक्षामा उत्तीर्ण भएका सबै विद्यार्थीलाई वडाले बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ। यस अघि बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई १ हजार रुपैया दिदै आएको छ । यस्तै दलित समुदायका बालबालिकालाई पोशाक समेत वितरण गर्ने गरेको छ ।

तपाईंको प्रतिक्रिया