बालशिक्षा शिक्षक र कर्मचारीको समस्या बजेटमा सम्बोधन भएन : शिक्षक महासंघ

 ६ घण्टा अगाडि

काठमाडौं । नेपाल शिक्षक महासंघ ले सरकारले प्रारम्भिक बालशिक्षाका शिक्षक र विद्यालय कर्मचारीका समस्या सम्बोधन नगरेको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि कम तलबमा काम गरिरहेका प्रारम्भिक बालशिक्षाका शिक्षक तथा विद्यालय कर्मचारीलाई बजेटले बेवास्ता गरेको उल्लेख छ। साथै, शिक्षण सिकाइ अनुदानमा कार्यरत सबै शिक्षकलाई महँगी भत्ता उपलब्ध गराउने व्यवस्था पनि नभएको महासंघको भनाइ छ।

महासंघले प्रारम्भिक बालशिक्षाका शिक्षक र विद्यालय कर्मचारीको पद तथा तह निर्धारण गरी सोअनुसार तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउन माग गरेको छ। साथै, सबै सिकाइ अनुदान शिक्षकलाई महँगी भत्ता दिनुपर्ने माग पनि गरेको छ।

बजेटमा शिक्षक तथा अन्य पेसाकर्मीको पारिश्रमिक बढाइएकोलाई महासंघले सकारात्मक मानेको छ। तर, शिक्षा क्षेत्रमा पर्याप्त बजेट नछुट्याइएको भन्दै असन्तुष्टि जनाएको छ। महासंघका अनुसार शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी हुनुपर्ने माग रहँदै आएको भए पनि यस वर्ष जम्मा १०.२७ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ।

तपाईंको प्रतिक्रिया