आगामी बजेटका लागि तुलसीपुर -११ मा योजना छनोट तीव्र: सरोकारवालासँग छलफल
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा समावेश गरिने योजनाहरूका लागि सरोकारवालाहरूसँग बृहत् छलफल थालेको छ । आगामी वर्षको बजेटलाई जनमुखी र लक्षित वर्गमैत्री बनाउने उद्देश्यले वडाले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव संकलन गर्न सुरु गरेको हो ।
यसैक्रममा मंगलबार वडाले बाल क्लब, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूसँग आगामी शैक्षिक रणनीति र बालअधिकारका विषयमा छलफल गरेको छ । त्यस्तै, दलित समुदायको हकहित र मागहरूलाई बजेटमा समेट्नका लागि दलित विकास समितिको बैठक समेत सम्पन्न भएको छ । महिलाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासलाई प्राथमिकता दिँदै वडाले ‘महिला सशक्तीकरण’ को बजेटमा समावेश गर्ने योजनाका विषयमा अगुवा महिलाहरूसँग पनि गहन छलफल गरेको छ ।
लक्षित वर्गको भावना र आवश्यकता अनुसारकै योजना छनोट गर्न आफूहरू लागिपरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
आज पनि छलफल जारी, जेठ २४ सम्म सुझाव संकलन गरिने
वडाध्यक्ष रावतका अनुसार बजेट निर्माणका लागि छलफल कार्यक्रम आज पनि निरन्तर रहनेछ । आज महतवा, ज्येष्ठ नागरिक, कृषक तथा अपाङ्गता भएका व्यक्तिहरूसँग छुट्टाछुट्टै चरणमा छलफल गरी उनीहरूका माग र आवश्यकता पहिचान गरिने वडाले जनाएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिनका लागि वडाले आगामी जेठ २४ गतेसम्म सरोकारवालाहरूसँग निरन्तर छलफल र सुझाव संकलन गर्ने कार्यतालिका बनाएको छ । स्थानीय तहको बजेटमा आफ्ना वास्तविक समस्याहरू समेटिने आसमा वडावासीहरूले पनि यस छलफलमा उत्साहजनक सहभागिता जनाइरहेका छन् ।




तपाईंको प्रतिक्रिया