पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुग्याे

 साउन २८, २०८३

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षाका कारण खसेको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित अरु आधा दर्जन घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो । उद्धारका क्रममा बिहीबार बिहान ७१ वर्षीया मनरखी पुनमगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । यसअघि १८ वर्षीया शान्ति पुनमगर र ६० वर्षीय कमलबहादुर पुनमगरको शव फेला परेको थियो ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ । पहिरोमा परी अझै नाै जना बेपत्ता छन् । पहिरो पन्छाएर उनीहरूको खोजी भइरहेको छ । बुधबार बेलुकी पौने ९ बजेतिर गाउँमाथिको डाँडाबाट पहिरो खसेर आधा दर्जन घरगोठ पुरेको थियो ।

पहिरोमा परी बेपत्ता हुनेहरूमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय असीम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् । घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी र स्थानीयले रातिदेखिनै उद्धार सुरु गरेका थिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घटनास्थलमा बिहीबार बिहानैदेखि ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ ।

तपाईंको प्रतिक्रिया