जन्मदिनमा सामाजिक सेवा गर्दै घर्तीले गरे ५० झोला सहयोग
तुलसीपुर। जन्मदिनलाई विशेष र सम्झनलायक बनाउने उद्देश्यले तुलसीपुरका व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टोपबहादुर घर्तीले सामाजिक सेवामार्फत आफ्नो जन्मोत्सव मनाउनुभएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्षसमेत रहनुभएका घर्तीले बुधबार नेपाल मानव धर्म सेवा समिति, तुलसीपुरमा पुगेर शैक्षिक अभियानका लागि ५० वटा विद्यालय झोला सहयोग गर्नुभएको हो ।
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने समितिको अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनको अवसरमा झोला हस्तान्तरण गरिएको घर्तीले बताउनुभयो। उहाँले जन्मोत्सवका नाममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्न सके समाजका विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
जन्मदिनकै अवसरमा घर्तीले समितिको आश्रममा आश्रय लिएर बसिरहेका करिब १०० जना बेसहारा, दुःखी तथा विपन्न व्यक्तिलाई भोजनसमेत गराउनुभएको छ। ‘जन्मदिनमा गरिने खर्चको केही हिस्सा सामाजिक सेवामा लगाउन सके अरूको अनुहारमा पनि खुशी ल्याउन सकिन्छ’ भन्ने सन्देश दिन आफूले यसपटक फरक तरिकाले जन्मदिन मनाएको घर्तीले बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै जन्मोत्सव मनाउने घर्तीको पहलले शैक्षिक तथा मानवीय सेवामा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ ।




तपाईंको प्रतिक्रिया