ब्राउनसुगरसहित तीन भारतीय नागरिक पक्राउ

 असोज १५, २०८३

नेपालगन्ज  । बाँके प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइचका २१ वर्षीय रिजवान अहमद इदरीशी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह रोठौरका अनुसार उनीहरूलाई नेपालगन्ज–२ स्थित होटल डायमन्ड प्यालेसबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार भारतबाट ब्राउनसुगर नेपाल भित्र्याई नेपालगन्जलाई माध्यम बनाएर कर्णाली प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले होटलमा छापा मारेको थियो। सो क्रममा उनीहरूको साथबाट ८०८ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, पक्राउ परेकाहरूको साथबाट भारतीय नम्बर प्लेट यूपी ३२ एफएच २६७९ भएको एक थान स्कुटर र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया