नेपालमा विद्युतीय राहदानी सार्वजनिक

 मङि्सर ०१, २०७८

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ–पासपोर्ट दिइएको हो। आज विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री डा.नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गर्नुभएको हो ।जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी भएको बताउनुभयो ।

उहाँले सरकारलाई सफलताको शुभकामना समेत दिनुभयो । यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्त्व रहने उहाँले उल्लेख गर्नुभयो ।राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताउनुभयो ।संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने पनि उहाँले उल्लेख गर्नुभयो । विद्युतीय राहदानी एडभान्स र व्यवस्थित हुने उहाँले बताउनुभयो ।

अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो ।यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ ।

तपाईंको प्रतिक्रिया