‘पललाई हलमा दर्शकले पनि खोजिरहेका छन’
काठमाडौं । शनिबार प्रहरीले पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछको लागि लगेको थियो । सामान्य सोधपुछपछि थापालाई प्रहरीले छोडेको छ ।
प्रहरीले गरेको सोधपुछपछि बाहिर निस्केका निर्देशक थापाले सञ्चारकर्मीसँग कुरा गर्दै पलसँग अन्तिम पटक भएको कुराकानीको बारेमा बताएका छन् । उनले भने, ‘हामी फिल्मको प्रिमियर हुनुभन्दा अगाडि सँगै मेकअप गरेर बसिरहेका थियौँ । त्यति नै वेला पलविरुद्ध उजुरी परेको खबर आयो । पल प्रिमियरमा जान नसक्ने कुरा भयो त्यसपछि हामी प्रिमियरमा गयौँ ।’
‘प्रिमियर सकिएको रात मलाई फोन आएको थियो । पलले स्पष्ट रुपमा भनेको थियो, फिल्म नरोक्नु फिल्म राम्रो हुन्छ ।’ उनले भने, ‘मैले पललाई तिमी कहाँ छौ भनेर सोधेको पनि हो, म कतै छु दाइ, बिस्तारै आफ्ना कुराहरू पनि जनतासमक्ष राख्दै जानेछु भन्ने कुरा गर्यो । मैले जे गर्नु राम्रो डिसिजन गर्नु भनेँ । त्यसपछि मसँग सम्पर्क भएको छैन ।’
थापाले आफूले अनुसन्धानमा प्रहरीलाई सघाउने बताए छ। पल दोषी ठहरिएमा सजाय पाउनुपर्ने पनि उनको भनाइ छ । म यस्तो गीत गाउँछु २ लाई दर्शकले उत्साहजनक रुपमा साथ दिएको पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘पललाई प्रहरीले मात्र होइन हलमा दर्शकले पनि उत्तिकै खोजिरहेका छन्।’ बुधबार एक नाबालिकाले अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा उजुरी दिएदेखि पल फरार छन् । प्रहरीले पलको खोजी तीब्र पारेको छ ।




तपाईंको प्रतिक्रिया