बैंकबाट ऋण लिँदै आयल निगम

 बैशाख ०६, २०७९

काठमाडौँ । सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि नेपाल आयल निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले निरन्तर घाटा ब्यहोर्दै आएको छ । जसले गर्दा असार मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ रहेको कोष अहिले रित्तिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न अपुग रकम हालसम्म निगमले यहीं कोषबाट झिकेर तिर्दै आएको थियो ।

कोष पनि रित्तिएपछि निगमले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकबाट निगमले दुई अर्ब रुपैयाँ ऋण लिँदैछ । निगमका सहप्रवक्ता पुस्कार कार्कीले पेट्रोलियम पदार्थको खरिदवापत आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई कठिन भएको बताए । निगमले ४ दिनपछि आईओसीलाई रकम भुक्तानी गर्दैछ ।

आईओसीबाट पछिल्लो समय प्राप्त मूल्यसूची र हालको इन्धन मागअनुसार प्रतिमहिना नोक्सानी ७ अर्ब ४७ करोड रहेको निगमले जनाएको छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १८ रुपैयाँ १६ पैसा, डिजेलमा ३० रुपैयाँ ५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५१ रुपैयाँ नोक्सान छ । हवाई इन्धन र मट्टितेलमा भने फाइदा रहेको निगमले जनाएको छ । बजारमा हाल पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टिटेल १४३ रुपैयाँ तोकिएको छ ।

तपाईंको प्रतिक्रिया