जब विद्यार्थीले रगत अभावको खबर सुने….

 जेठ ११, २०७९

तुलसीपुुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज बिएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रकाश वलीको फेसबुक टाइमलाईनमा मंगलबार साँझ एउटा ‘म्यासेज’ देखियो । ‘तुलसीपुरको ब्लड बैंकमा रगतको अभाव’ । सन्देश पढ्ने वित्तिकै उनले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई गु्रपमा म्यासेज लेखे ‘तुलसीपुरमा रगतको अभाव भन्ने खबर देखियो विहान सबैले रक्तदान गर्नुपर्दछ’ । विद्यार्थी वलीले म्यासेजमा लेखेको सन्देशका आधारमा बुधबार विहान व्लड बैकमा विद्यार्थीहरु रक्तदान गर्नका लागि उपस्थित भए ।

कलेजमा अध्ययनरत ९ जना विद्यार्थीहरुले सो अवसरमा रक्तदान गरेको रक्तदानका लागि संयोजन गरेका रिपोर्टस् क्लवका अध्यक्ष शरद रेग्मीले जानकारी दिए । कलेजमा अध्ययनरत तिलक रावत, समिर पोख्रल,दामोदर खड्का, सितल नेपाली, संगीता विक, प्रतिमा मल्ल,निर्मला खत्री रेश्मी थापा र हसिना बुढाले रक्तदान गरेका थिए ।

‘हाम्रो शरीरबाट त्यसै खेर जाने रगत दान गरेर कसैको ज्यान जोगिन्छ भने हामीले सहयोग गर्नुपर्दछ’ विद्यार्थी प्रतिमा मल्लले भनिन् । उनले रक्तदान जीवनदान भएको भन्दै सबैलाई रक्तदान गर्नका लागि अनुरोध समेत गरिन् ।

तपाईंको प्रतिक्रिया