समानुपातिकतर्फ ८३ लाख मत गणना

 मङि्सर ११, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ ।

आइतबार बिहान साढे ८ बजेसम्म ८३ लाख ३२ हजार मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २२ लाख ९० हजार ३ सय १७ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २१ लाख ५८ हजार ४ सय ८ मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ५८ हजार ४ सय १८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत पाएको छ ।

यसैगरी समानुपातिकतर्फ राप्रपाले ४ लाख ८४ हजार ९३९ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले २ लाख ७९ हजार ९३९ मत पाएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख १८ हजार २११ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ। अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ। जनमत पार्टीले २ लाख १३ हजार १०३ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६८६ मत पाएको छ। लोसपाले एक लाख १६ हजार ६५७ मत पाएको छ ।​ यसैगरी नेमकिपाले ६९ हजार ८२५ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४७ हजार ७२३ मत पाएको छ। जनमोर्चाको ४३ हजार १६ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ ।

तपाईंको प्रतिक्रिया