त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

 मङि्सर २१, २०७९

तुलसीपुर । त्रिभुवन विश्वविद्यालयको ४८औ दीक्षान्त समारोह यही मंसिर २३ गते शुक्रबार हुने भएको छ। दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो।

दीक्षान्त मूलसमारोह समितिका सदस्य सचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन्। विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन्।

उनले उक्त समय अवधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए।

उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारिधितर्फ ९७ जना दीक्षित हुँदै छन्। समारोहमा दीक्षित हुने विद्यार्थीका एकजना अभिभावक सहभागी हुने छन्।

स्नातकतर्फ रु. तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु. चार हजार दुई सय तथा विद्यावारिधिमा रु.चार हजार सात सय शुल्क लाग्ने छ। समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ।

तपाईंको प्रतिक्रिया