छिल्लीकोटकाे सुरक्षा व्यवस्थापनमा नगर प्रमुखको चासो

 पुष ०९, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ऐतिहासिक पर्यटकीय,धार्मिक स्थल छिल्लीकोटमा सुरक्षा व्यवस्था कायम गर्नका लागि सम्बन्धित निकायले चासो देखाएका छन् । त्यस क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनामा क्षति पु¥याउने,त्यहाँ पुग्ने पर्यटकहरुलाई कुटपिट गर्ने जस्ता घट्नाहरु बढ्दै गएपछि स्थानीयले प्रहरी बिट राख्नका लागि माग गर्दै आएका छन् ।
स्थानीयका मागप्रति ध्यान राख्द्रै स्थानीय सरकारले सुरक्षा व्यवस्था कायम गराउनका लागि चासो व्यक्त गरिएको छ । त्यस क्षेत्रमा पुग्नका लागि सडक अवस्था सुधार हुँदै गएपछि पर्यटकहरुको संख्या समेत बढ्दै गएको छ । शनिबार दीर्घकालीनरुपमा सुरक्षा अवस्था व्यवस्थित गर्नका लागि नगरप्रमुख टिकाराम खड्काकाे नेतृत्वमा छलफल गरिएको छ । छलफलका क्रममा नगरप्रमुख  खड्काले तत्काल प्रहरी बिट स्थापना गर्नका लागि प्रशासन समक्ष आग्रह गर्नुभएको थियो । उहाँले प्रहरीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि पालिकाले समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्यटकीय क्षेत्रको विकासका लागि सकारात्मक नै रहेको बताउनुभयो । प्रहरी प्रमुख वीरबहादुर वलीले त्यस क्षेत्रको सुरक्षा अवस्थालाई थप मजबुत तुल्याउनका लागि काम गर्ने बताउनुभयो । वडाध्यक्ष प्रेमनाथ योगीले पर्यटकका साथै जनताको सुरक्षामा समेत बिट स्थापना गरे थप प्रभावकारी रहने बताउनुभयो ।
स्थानीय परवीर पुनले सुरक्षा व्यवस्था नहुँदा पटक पटक पर्यटकहरु कुटिने,लुटपाटमा पर्ने जस्ता घटना भइरहेकाले तत्काल मन्दिरमा निर्माण गरिएको धर्मशालामा प्रहरी बिट राख्न सकिने बताउनुभयो । सडक अवस्था सुधार हुँदै गएको केही महिनाभित्रै साहसिक खेल जीप लाइन समेत सुरु हुन थालेकाले तत्काल सुरक्षा व्यवस्था कायम गर्नुपर्ने बताउनुभयो । १६ औ शताब्दीमा छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेका थिए भने श्रीस्वस्थानी ब्रत कथामा सत्य देवीको दाहिने कुम पतन भएको उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया