सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

 फागुन १६, २०७९

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खायाममा समेत नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने अवस्था आउने बताउनुभयो । उहाँले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । झन्डै ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट बिजुली उत्पादन भएर आइसकेको छ । अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । प्रत्येक वर्ष ८ सय मेगावट बिजुली उत्पादन बढ्दै गएको छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ । यसरी हेर्दा सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुक्खायाममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ ।’

कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो ।

त्यस्तै निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनु भयो । उहाँले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १ सय ४० मिलियन, विश्व बैंक र एडीबीबाट २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत् उत्पादनका लागि नयाँ–नयाँ प्रोजेक्टहरू बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो ।

सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । उहाँले प्राधिकरण जलविद्युत् उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयाे ।

तपाईंको प्रतिक्रिया