नदीको बहाव बढ्ने सम्भावना

 चैत १७, २०७९

काठमाण्डाै । नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको भन्दै सुरक्षित रहन आग्रह गरेको छ । स–साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नारायणगढ–बुटवल सडक खण्ड भई यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपाउन महाशाखाको आग्रह छ ।

पश्चिमी वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ भने पूर्वमा पनि पानी पर्ने क्रम सुरु भएको छ । मधेस प्रदेशका धेरै ठाउँमा पानी पार्ने बादल फैलिएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

आज (शुक्रवार) र भोलि (शनिवार) को मौसम यस्तै रहने र पर्सि आइतवारदेखि मौसम खुल्दै जाने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज राति तराई मधेसका क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

तपाईंको प्रतिक्रिया