भ्रष्टाचारका फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भन्दै प्रचण्डले कुप्रचार गरे: प्रधानमन्त्री ओली
घोराही । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार समृद्धिको यात्रामा अघि बढेको देखेर विभिन्न षड्यन्त्र सुरु भएको बताएका छन् । समृद्धिको यात्रा र मलाई रोक्न नसक्ने समेत उनले बताएका छन । नेकपा (एमाले) दाङले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बदल्ने जिम्मा आफ्नो नेतृत्वको रहेको समेत बताएका छन ।
मुलुकमा सुरुङ युग, पाईपलाईन, पानी जहाँजका कुरा गर्दा मजाक उडाउनेहरु दंग परेको समेत उनले बताएका थिए । उनले निकट भविष्यमा लमही–घोराही सडक खण्डमा सुरुङ मार्ग निर्माण गर्न सकिने समेत बताए । उनले दाङमा एयरपोर्टको समस्याबारे आफू जानकार रहेको भन्दै आउँदो वर्ष एयरपोर्टका लागि बजेट बिनियोजन गर्दै आफ्नै कार्यकालमा दाङ एयरपोर्ट बन्ने कुरामा विश्वस्त हुन आग्रह गरे ।
एमालेका अध्यक्षसमेत रहेका ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठूला लुटेरा भएको समेत टिप्पणी गरे । देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेको बताएका थिए ।
एमाले जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव शंकर पोखरेल,केन्द्रिय सचिव पद्मा अर्याल,पोलिटब्यरो सदस्य नरुलाल चौधरीले सम्बोधन गरेका थिए । उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबटा सुरु भएको कार्यक्रमको सहजिकरण सचिव श्याम डाँगीले गरेका थिए ।




तपाईंको प्रतिक्रिया