एलिजाले जनादेश पार्टी छाडिन, आम जनता पार्टीकाे उपाध्यक्ष बनिन्
काठमाडौँ । जनादेश पार्टीकी संस्थापक सदस्य एवम् उपाध्यक्ष एलिजा गौतमले दल गठनको एक महिना नबित्दै उक्त पार्टी छाडेकी छन् । गौतम प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रवेश गरेर उपाध्यक्ष बनेको उनैले सार्वजनिक गरेकी हुन् । ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।
उनले आफ्नो कार्यसूची पनि अघि सारेकी छन् । ‘देशमा विकास गराउन पहल गर्ने र नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने भ्रस्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने, देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सिर्जना गर्ने, भुइँ मान्छेको एजेन्डा बोकेर अघि बढ्ने, देशका जनताको पक्षमा काम गर्ने, व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने, पीडितको पक्षमा उभिने र अन्यायमा परेको मानिसलाई न्याय दिने, महिला सशक्तिकरणका लागि निरन्तर काम गर्ने, मजदुरको लागि काम गर्ने र म पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी राख्दिनँ,’ उनले भनेकी छन्।
अभिनेत्रीसमेत रहेकी गौतम यसअघि २०७९ माघमा गौतम रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा पनि प्रवेश गरेकी थिइन्। गत कात्तिक २७ गते उनी अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा गठन भएको जनादेश पार्टी, नेपालको उपाध्यक्ष बनेकी थिइन्।




तपाईंको प्रतिक्रिया