राजाकोट वनमा आगो, जोखिम मोलेर नियन्त्रण प्रयास जारी

 १४ घण्टा अगाडि

दाङ । दाङ जिल्लाको दंगीशरण गाउँपालिका–२, कौवाघारीस्थित राजाकोट सामुदायिक वन क्षेत्रमा लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। निरन्तर प्रयासका बाबजुद हालसम्म करिब ६० प्रतिशत मात्रै आगो नियन्त्रणमा आएको समूहका अध्यक्ष चक्र मिलन वि.कले जानकारी दिएका छन्।

हावाहुरी, सुख्खा मौसम र घना वन क्षेत्रका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ। डढेलोले करिब ३०० हेक्टर क्षेत्रफलमा फैलिँदै ठूलो वनस्पति क्षति पुर्‍याएको छ भने वन्यजन्तुहरू समेत प्रभावित भएका छन्।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङका सशस्त्र वन रक्षक, नेपाल प्रहरी, वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय युवा तथा उपभोक्ताहरू सक्रिय रूपमा खटिएका छन्। जोखिम मोलेर गरिएको प्रयासका कारण आगो थप फैलिन नदिन केही हदसम्म सफलता मिलेको छ।

उक्त अभियान राजाकोट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा सव–डिभिजन वन कार्यालय श्रीगाउँ दाङको सहजीकरणमा सञ्चालन भइरहेको हो। स्थानीय समुदाय र सुरक्षा निकायबीचको सहकार्य प्रभावकारी देखिए पनि कठिन भौगोलिक अवस्था, उपकरण अभाव र बढ्दो तापक्रम चुनौतीका रूपमा देखिएका छन्।

डढेलोका कारण वनस्पति, जडीबुटी र अन्य प्राकृतिक स्रोतमा गम्भीर क्षति पुगेको छ। साथै जैविक विविधता घट्नुका साथै वन्यजन्तुको बासस्थान नष्ट हुँदा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम रहेको छ। धुवाँका कारण वायु प्रदूषण बढ्दै श्वासप्रश्वास, आँखा पोल्ने र टाउको दुख्ने समस्या देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

सम्बन्धित निकायले डढेलो पूर्ण नियन्त्रणमा ल्याउन प्रयास जारी राखेका छन्। यसैबीच स्थानीयवासीलाई सतर्क रहन, वन क्षेत्रमा जथाभावी आगो नलगाउन र सम्भावित जोखिमबाट टाढा रहन आग्रह गरिएको छ।

विज्ञहरूले डढेलो नियन्त्रण र रोकथामका लागि दीर्घकालीन योजना आवश्यक रहेको औँल्याएका छन्। वन सरसफाइ, अग्निरेखा निर्माण, आधुनिक उपकरणको प्रयोग र जनचेतना अभिवृद्धिजस्ता उपाय अपनाएमा भविष्यमा यस्ता घटनाको जोखिम घटाउन सकिने उनीहरूको भनाइ छ।

तपाईंको प्रतिक्रिया