मानव एकता दिवसका अवसरमा रक्तदान

 ९ घण्टा अगाडि

दाङ ।  निरंकारी मिशनको आयोजनामा मानव एकता दिवसका अवसरमा दाङ जिल्लामा रक्तदान तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

मानवता, शान्ति तथा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सन्त निरंकारी मण्डल शाखा तुलसीपुरकी मुखी शारदा जीसीको अध्यक्षता तथा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मानव जीवनमा एकताको आवश्यकता औंल्याउँदै जात, धर्म, वर्ग तथा क्षेत्रीय विभेदको अन्त्य गरी समावेशी समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले “मानव नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै समाजमा सहिष्णुता, आपसी सद्भाव र सेवाभाव अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।

“रक्तदान नै जीवनदान” भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको रक्तदान शिविरमा ५५ जना व्यक्तिहरूले उत्साहजनक रूपमा रक्तदान गरेका थिए। संकलित रगतले आपतकालीन अवस्थामा रहेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वयंसेवक तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राकेश डाँगीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया