तुलसीपुर–११ मा विकासको फड्को, दरबार र पुल निर्माणका लागि ठूलो बजेट

 ११ घण्टा अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भएको छ । लुम्बिनी प्रदेश सरकारबाट यी दुई महत्वपूर्ण योजनाका लागि ठूलो रकम विनियोजन भएपछि स्थानीयवासीमा खुसी छाएको छ ।

वडा अध्यक्ष मान बहादुर रावतका अनुसार दंगीशरण थारु राजाको दरबारको संरक्षण, पुनःनिर्माण तथा पर्यटकीय विकासका लागि ८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै उरहरी र पिपलेडाँडा जोड्ने क्वाङखोला पुल निर्माणका लागि ४ करोड ८८ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएको पुल निर्माण र दरबार क्षेत्रको विकास अब कार्यान्वयनको चरणमा पुगेपछि वडा नम्बर ११ का बासिन्दा उत्साहित बनेका छन् । पुल निर्माण भएपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने अपेक्षा गरिएको छ । यसले उरहरी, पिपलेडाँडा लगायत आसपासका क्षेत्रका नागरिकलाई सहज यात्रा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

त्यसैगरी ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको दंगीशरण थारु राजाको दरबारको विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । दरबार क्षेत्रको संरक्षण र व्यवस्थित विकास भएपछि त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन सकिने स्थानीयको भनाइ छ ।

वडा अध्यक्ष रावतले बजेट सुनिश्चित भएसँगै अब केही समयमै टेण्डर प्रक्रिया सुरु हुने बताउनु भयाे । योजना कार्यान्वयन भएपछि वडा नम्बर ११ को विकासमा थप गति आउने उहाँको विश्वास छ ।

वडाध्यक्ष रावतले बजेट विनियाेजनमा  महत्वपुर्ण भुमिका खेलेकाेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चेतनारायण आचार्य,पुर्ब मुख्यमन्त्री डिल्ली बहादुर चौधरी,  भौतिक पुर्वाधार मन्त्रि भुमिश्वर ढकाल,   पर्यटन मन्त्री  प्रचण्ड बिक्रम न्यौपाने लगायत सबैलाई धन्यवाद ब्यक्त गरेका छन ।

विकास निर्माणका काममा सक्रिय रूपमा लागिरहेका वडा अध्यक्ष रावत तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामध्ये विकास र बजेट व्यवस्थापनका हिसाबले अग्रपंक्तिमा देखिने गरेका छन् । लामो समय निजामती कर्मचारीका रूपमा काम गरेको अनुभव, सरकारी निकायसँगको समन्वय क्षमता तथा राजनीतिक पहुँचका कारण उहाँले वडामा हरेक वर्ष करोडौँ बजेट भित्र्याउन सफल भएको स्थानीयको बुझाइ छ ।

स्थानीयवासीले पनि वडा नम्बर ११ मा पछिल्लो समय सडक, पुल, खानेपानी, शिक्षा तथा पर्यटन क्षेत्रका योजनामा उल्लेख्य प्रगति भएको बताएका छन् । विकास निर्माणका कामले गति लिन थालेपछि वडाको समग्र मुहार फेरिने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया