माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।सुनसरीकाे इटहरीमा रहेकाे रिजाल एन्ड कम्पनीका नाममा ६० बिघा जग्गा छुट दिएर भ्रष्टाचार गरेकाे आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
यस प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाटै जग्गा सट्टापट्टासम्बन्धी निर्णय गराएर बिक्री गरेकाे आराेप छ । अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरेकाे छ ।
मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएकाे छ । त्यस्तै तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उहाँँको परिवारलाई विपक्षी बनाइएको छ ।
यस्तै पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई पनि प्रतिवादी बनाएको छ ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा हिनामिना प्रकरणको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।



तपाईंको प्रतिक्रिया