पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपाल ले पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पछिल्लो समय अनलाइन सञ्चार माध्यम, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक र चरित्रहत्या हुने सामग्री प्रसारण बढेको भन्दै निगरानी र कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो ।
काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा बिना अनुमति सार्वजनिक निकाय, अस्पताल, विद्यालय तथा सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, बालबालिकासँग सम्बन्धित संवेदनशील सामग्री प्रसारण गर्ने तथा तथ्य पुष्टि नगरी आरोप लगाउने कार्य बढेको उल्लेख गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा भ्युज र मोनिटाइजेसनका लागि अपुष्ट सामग्री सम्प्रेषण गर्ने, व्यक्तिको गोपनीयता र पेशागत मर्यादामा असर पर्ने खालका सामग्री प्रसारण गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले चिन्ता व्यक्त गरेको छ ।
काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग नगर्न चेतावनी दिएको छ । साथै गलत, भ्रामक र आचारसंहिता विपरीत सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ ।




तपाईंको प्रतिक्रिया