विद्यालयबाटै स्कुल ड्रेस बिक्री रोक्न माग गर्दै मेयरलाई ज्ञापनपत्र
तुलसीपुर । नेपाल कपडा व्यवसायी संघ नगर कार्य समिति तुलसीपुर, दाङले विद्यालयहरूले आफैं स्कुल ड्रेस बिक्री तथा वितरण गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले उक्त कार्यले स्थानीय कपडा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्कालाई ज्ञापनपत्र बुझाएको हो।
संघका पदाधिकारीहरूले विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई निश्चित स्थान वा विद्यालयबाटै ड्रेस खरिद गर्न बाध्य बनाउने प्रवृत्ति बढ्दै गएको गुनासो गरेका छन्। यसले वर्षौंदेखि कपडा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय व्यवसायीहरूको व्यापारमा नकारात्मक असर परेको नगर समिति अध्यक्ष गोपाल नेपालीकाे भनाइ छ।
ज्ञापनपत्रमार्फत संघले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक पोसाक खरिद–बिक्रीको प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र उपभोक्तामैत्री बनाउन माग गरेको छ। साथै, विद्यालयहरूबाट प्रत्यक्ष रूपमा ड्रेस बिक्री–वितरण गर्ने कार्य रोक्न र सम्बन्धित निकायमार्फत आवश्यक अनुगमन गर्न पनि आग्रह गरिएको छ।
नगर प्रमुख खड्कालाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय व्यवसायीको हित संरक्षण गर्दै विद्यार्थी र अभिभावकको छनोटको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। संघले समस्या समाधानका लागि उपमहानगरपालिकाले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेको छ।



तपाईंको प्रतिक्रिया