प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गर्न ध्यानाकर्षण

 ५ घण्टा अगाडि

तुलसीपुर, दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा विगत दुई वर्षदेखि CT Scan मेसिन बिग्रिएर सेवा बन्द हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएको भन्दै CT Scan सेवा पुनः सञ्चालन गर्न र अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ।

‘तुलसीपुर बनाऔँ अभियान’का संयोजक सर्जन परियारको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा विस्तार र उपकरण व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गरिएको हो।

ज्ञापनपत्रमा राप्ती प्रादेशिक अस्पताल दाङसहित आसपासका जिल्लाका नागरिकका लागि प्रमुख सरकारी स्वास्थ्य संस्था भए पनि CT Scan सेवा बन्द हुँदा सेवाग्राहीले आर्थिक तथा मानसिक सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ। त्यसैले अस्पतालमा नयाँ CT Scan मेसिन जडान गरी सेवा सुचारु गर्न र अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।

संयोजक परियारले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले प्रदेश सरकारले अस्पतालको स्तरोन्नति र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

तपाईंको प्रतिक्रिया