तुलसीपुर कारागारका महिला कैदीबन्दीका लागि पुस्तकालय
तुलसीपुर । दाङको तुलसीपुरस्थित कारागारमा महिला कैदीबन्दीका लागि ५९० भन्दा बढी पुस्तकसहितको पुस्तकालय स्थापना गरिएको छ । ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियानअन्तर्गत नेशनल प्रेस क्लब नेपाल तथा नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले पुस्तकालय स्थापना गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालय, दाङ तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा स्थापना गरिएको पुस्तकालयले कारागारभित्र रहेका महिला कैदीबन्दीलाई ज्ञान, शिक्षा, आत्मचिन्तन र स्वसुधारको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
पुस्तकालयमा विभिन्न विधा र विषयका ५९० भन्दा बढी पुस्तक राखिएको छ । पुस्तक अध्ययनमार्फत कैदीबन्दीको ज्ञान, चेतना, सोच र जीवन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
अध्यक्ष सिंहले आफू दाङकै भएकाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै महिला कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरेको बताइन् । उनले आमालाई पहिलो गुरुका रूपमा सम्मान गरिने उल्लेख गर्दै महिलाको शिक्षा, ज्ञान र आत्मविकासमा सहयोग पुर्याउनु सबैको सामाजिक दायित्व भएको बताइन् ।
तुलसीपुर कारागारमा हाल ६४ जना महिला कैदीबन्दी तथा उनीहरूसँगै चार जना बालबालिका रहेका छन् । कारागारभित्र पुस्तकालय स्थापना भएपछि महिला कैदीबन्दीले खाली समयलाई अध्ययनमा उपयोग गर्न पाउने भएका छन् । यसले उनीहरूको ज्ञान र सीप विकाससँगै आत्मविश्वास बढाउन तथा भविष्यप्रति सकारात्मक सोच निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुस्तकालय स्थापना कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रहरी नायव उपरीक्षक होमबहादुर पुराजुली, सशस्त्र प्रहरीका तिलक खड्का, कारागार प्रशासक गिरबहादुर सेजुवाल, कारागार जनस्वास्थ्य निरीक्षक दोर्ण वली, रिपोर्टर्स क्लब दाङका शरद रेग्मी, महिला कारागारकी चौकीदार रुक्सा राईलगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।




तपाईंको प्रतिक्रिया