तुहीखोलामा पुल नहुँदा स्थानीयले सास्ती भाग्दै

 १५ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित  तुहीखोलामा पुल नहुँदा स्थानीयले वर्षायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।

वर्षातको समयमा तुहीखोलामा पानीको बहाव बढेपछि उक्त खाेला भएर आवतजावत प्रभावित हुने गरेको स्थानीय बताउँछन्। सामान्य अवस्थामा सहज देखिने खोला वर्षायाममा ठूलो बन्ने भएकाले विद्यार्थी, वृद्धवृद्धा, किसान तथा सर्वसाधारणलाई जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेको स्थानिय गोविन्द नेपालीले बताए ।

स्थानीयका अनुसार तुहीखोलामा पुल निर्माणको माग पटक–पटक सङ्घ,प्रदेश तथा स्थानिय  निकायसमक्ष राख्दै आए पनि हालसम्म त्यसको ठोस सुनुवाइ हुन सकेको छैन। पुल नहुँदा वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयले हरेक वर्ष वर्षात् सुरु भएपछि जोखिम बढ्ने गरेको गुनासो गरेका छन्।

खोलामा पानीको सतह बढेका बेला आवतजावत रोक्नुपर्ने अवस्था आउने र अत्यावश्यक कामका लागि समेत जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ। पुल निर्माण भए  आवतजावत सहज हुनुका साथै स्थानीयको दैनिक जीवन, शिक्षा, स्वास्थ्य र कृषि गतिविधिमा समेत सहजता आउने उनीहरूको अपेक्षा छ।

 

तपाईंको प्रतिक्रिया