विश्व शिक्षक दिवसको अवसरमा तुलसीपुरमा शुभकामना तथा सम्मान कार्यक्रम
तुलसीपुर । विश्व शिक्षक दिवस–२०२६ को अवसर पारेर ने.रा. शिक्षक संगठन (NNTA), संघीय निर्वाचन क्षेत्रीय समिति–३ दाङको आयोजनामा तुलसीपुरस्थित माध्यमिक विद्यालय दोघरेमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हालै बढुवा भएका तथा नवनियुक्त प्रधानाध्यापकसहित करिब एक दर्जन शिक्षकलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षक तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारका विषयमा छलफल गर्दै विश्व शिक्षक दिवसको शुभकामना आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विश्वभरका विद्यालय शिक्षक तथा कर्मचारीसँग ऐक्यबद्धता जनाउँदै शिक्षकका पेसागत अधिकार, सम्मान र शिक्षा क्षेत्रका समसामयिक सरोकारका विषय उठाइएको थियो। साथै, सन् १९६६ अक्टोबर ५ मा UNESCO र ILO बाट पारित तथा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित ऐतिहासिक दस्तावेजको स्मरण गरिएको थियो।
क्षेत्रीय अध्यक्ष निर्मल कुमार वलीको अध्यक्षता तथा जिल्ला अध्यक्ष मिनराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पूर्व केन्द्रीय सदस्य प्रेम वली, सम्मानित व्यक्तित्वमध्ये पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, NNTA तुलसीपुरका अध्यक्ष होमराज डाँगी तथा क्षेत्रीय सदस्य खम्बबहादुर रावलले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन NNTA संघीय निर्वाचन क्षेत्रीय समिति–३ दाङका क्षेत्रीय सचिव लालबहादुर कवरले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका, शिक्षकका पेसागत सरोकार तथा अधिकारका विषयमा धारणा राखेका थिए।




तपाईंको प्रतिक्रिया