नेपाल त्रिदेशीय नेसन्सकपको फाइनलमा प्रवेश

 चैत १४, २०७७

तुलसीपुर । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो । बंगलादेशले भने ४ अंक बनाउँदै समूह विजेता बन्यो । बंगलादेश यस अघि नै फाइनलमा प्रवेश गरेको थियो ।

घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रहयो । पहिलो खेलमा जस्तो बंगलादेशसँगको खेलमा पनि नेपाली टोलीको मध्यक्रम चल्न सकेन ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको उमेर समूहलाई हराउँदै फाइनल प्रवेश गरिसेको अवस्थामा आयोजकलाई रोक्ने रणनीति सफल भयो ।

तपाईंको प्रतिक्रिया