कृषि उद्यमशील परियोजना सफल बनाउन समिति गठन

 असार २१, २०७८

प्रेमबहादुर राम्जा, हापुरे ।

बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सफल बनाउनका लागि अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । कृषकहरुलाई कृषि तथा पशु उद्यम मार्फत् ब्यबसायिक क्षेत्रमा प्रबेश गराउनका लागि परियोजना सुरु गरिएको हो । महिला समुह मार्फत् ग्रामीण क्षेत्रका कृषकलाई साना किसानहरुलाई उद्यमशील बनाउन बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको सयुक्त प्रयासमा परियोजना सुरु गरिएको छ ।

उक्त परियोजना सफल बनाउन पालिकास्तरिय र वडास्तरका अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा पालिकास्तरिय अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । उक्त समिति १९ सदस्यीय रहेको छ । त्यस्तै वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरिय अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । पालिका र वडास्तरमा गरी ८ वटा समिति गठन गरिएका छन् । परियोजना मार्फत् समुहमा संलग्न रहेका सदस्यहरुलाई विभिन्न किसिमका तालिम, सीपको ब्यबस्था गर्नुका साथै घाँस तथा पशुहरु सदस्यहरुलाई उपहार दिने कार्यक्रम रहेको परियोजना संयोजक हिरालाल खड्काले जानकारी दिनुभयो ।

यसैगरी समुहमा रहेका सदस्यहरुलाई कृषि क्षेत्रको बिकास र लगानी गर्नका लागि सहज र सस्तो ब्याजमा कृषि ऋणका लागि समन्वय गर्ने संयोजक खड्काले जानकारी दिनुभयो । बबई गाउँपालिकाका सात वटै वडाहरुमा सुरु गरिएको उक्त परियोजना सहजीकरणका लागि एक जना परियोजना संयोजक, एक जना लेखा अधिकृत, एक जना प्राबिधीक र सात जना सहजकर्ता नियुक्त गरिएको छ ।

बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ । प्रत्यक्ष किसानसंग जोडिएको कार्यक्रम भएकाले कार्यपालिकाको बैठक मार्फत् स्वीकृत गरी सुरु गरिएको पालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया