राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

 साउन १३, २०७८

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएकाे छ । ​हेलिकोप्टरमार्फत सिन्धुली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले संग्राहलयको उद्घाटन गर्नु भएको हो । नेपाली सेनाले झण्डै सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएपछि आज राष्ट्रपतिबाट उद्घाटन गरिएकाे हो ।

आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले वि.स. १८२४ को युद्धमा अंग्रेजहरुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभयाे । सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको २०७३ साल कात्तिक २४ गते शिलान्यास गरिएको थियो ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

तपाईंको प्रतिक्रिया