थप २५० जनामा सङ्क्रमण पुष्टि

 जेठ २९, २०७७

तुलसीपुर,२९ जेठ ।

नेपालमा विगत २४ घण्टामा थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ। तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले बताए।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका हुन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,२६३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १५ हजार ९३० पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।

अहिले देशभरि १,६२,०१३ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

तपाईंको प्रतिक्रिया