आज विश्व बालश्रम विरुद्धको दिवस
तुलसीपुर,३० जेठ ।
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा जोखिम उत्पन्न भएको जनाएको छ । साथै सङ्कट व्यवस्थापन तथा पुनःस्थापनाका क्रममा सबैभन्दा जोखिममा रहेकालाई प्राथमिकता दिन विश्व समुदायलाई आह्वान समेत गरेको छ ।
बालश्रम विरुद्धको विश्व दिवस, २०२० को अवसरमा आईएलओले कोभिड–१९ महामारी र यसले निम्ताएको विश्वव्यापी आर्थिक तथा सामाजिक सङ्कटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरिबीमा रहेका परिवारसँगै उनीहरुका बालबालिकामा जोखिम बढाएको उल्लेख गरेको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आईएलओले जोड दिएको छ । कोभिड–१९ फैलनु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आईएलओले जनाएको छ ।
सन् २००० मा बाल श्रमिकको सङ्ख्या २४ करोड ६० लाख रहेकामा सन् २०१६ सम्म बालश्रम १५ करोड २० लाखमा झरेको छ । सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् । कोरोना सङ्कटले जोखिममा रहेका लाखौँ बालबालिकालाई फेरि बालश्रममा लगाउन सक्ने खतरा रहेको आईएलओले औँल्याएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ लाई बालश्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ ।
तपाईंको प्रतिक्रिया