क्रियाशील सदस्यको विवरण पठाउन काँग्रेसको निर्देशन

 मङि्सर ०६, २०७७

तुलसीपुर ।

नेपाली काँग्रेसले क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ । १४ औँ महाधिवेशन नजिकिएको भन्दै काँग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो। काँग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ । कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए ।

काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई भनिएको छ । काँग्रेस पार्टी कार्यालयका अनुसार उसका अहिले पाँच लाखको हाराहारीमा क्रियाशील सदस्य छन । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया