लोकसेवाको सर्भर ह्याक गरेर एसएमएस पठाउने पक्राउ

 मङि्सर २३, २०७७

काठमाडौं ।

लोकसेवा आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर व्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता (एसएसपी) नवीन्द अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ ।

उनीहरुले लोकसेवा आयोगको प्लेटफर्म प्रयोग गरेर विशिष्ट व्यक्ति र कर्पोरेट क्षेत्रका करिब ९ हजारलाई मेसेज पठाएका थिए । सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको एसएसपी अर्यालले बताए । उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया