आगामी तीन हप्ता नेपालकाे स्थिति कठिन रहनेछ : डा. पाण्डे

 बैशाख २९, २०७८

काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् ।

यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । घर बाहिर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं ।’

डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन सुझाव दिएका छन् । उनले भेटघाट बन्द गर्ने तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सवैमा अपिल गरेका छन् ।

तपाईंको प्रतिक्रिया