नेपाली २ युवकको भारतमा हत्या, पाँचजना पक्राउ

 माघ ०८, २०७९

जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले वताए ।

उनका अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर (बेला परिहार) गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको एसपी खड्काले जानकारी दिए । अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रूपैयाँ फिरौती माग गरेको र २० लाखमा ‘डिल’ समेत भइसकेको थियो ।

विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए ।अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो ।

यो घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।

तपाईंको प्रतिक्रिया