तुलसीपुरका चार वडा बालश्रम मुक्त, पाँचौ वडाका रुपमा वडा नम्बर १६ लाई गर्ने तयारी

 बैशाख १३, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको पाँचौ बालश्रम मुक्त वडा नम्बर १६लाई घोषणाको अन्तिम तयारी गरिएको छ । वडा नम्बर १६मा रहेका बालश्रमिकहरुलाई परिवारको जिम्मा लगाएर ती बालबालिकाहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीका लागि १५ जना बालबालिकालाई पाँच हजार हस्तान्तरण गरिएको छ । त्यस्तै अति विपन्न बालबालिकाका परिवारलाई आर्थिकरुपमा सक्षम बनाउनका लागि बिउँ पूजीकारुपमा दुई जना बालबालिकाको परिवारलाई नगद १५ हजार हस्तान्तरण गरिएको छ । उक्त रकमबाट ती बालबालिकाका परिवारले आयआर्जनको क्षेत्रमा प्रयोग गर्नका लागि दिइएको हो ।

वडा नम्बर १६ लाई बालश्रम मुक्त घोषणाका लागि सम्पूर्ण तयारी पूरा गरिएको वडाध्यक्ष शिवानन्द डाँगीले जानकारी दिनुभयो । हालसम्म तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६,१,२ र १८ लाई बालश्रमुक्त घोषणा गरिएको छ भने वडा नम्बरम १६ लाई घोषणा गर्नका लागि अन्तिम तयारी गरिएको छ भने १७ को समेत मुक्त घोषणाका लागि सम्पूर्ण सूचक अन्तिम तयारी अवस्थामा रहेको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । नेपाललाई सन् २०३० सम्म बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुने अवस्था आउन नदिन बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । युनिसेफको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले बालबालिका तथा उनीहरुका घरपरिवारलाई आर्थिक सहयोग गरेको हो । त्यस अवसरमा नगर उपप्रमुख स्यानी चौधरीले पाँच वर्षभित्र नगरलाई समृद्ध बनाउन सबै किसिमको समान विकास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले शिक्षा र स्वास्थ लगानी कम भएको भन्दै आगामी दिनमा सामाजिक विकासमा लगानी बढाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

बालविज्ञ नवराज लामिछानेले नगरमा बालश्रम डरलाग्दो स्थिति नभएपनि शून्य अवस्थामा नपुगेको बताउनुभयो । उहाँले नगरलाई बालश्रम मुक्त बनाएर बालमैत्री नगर बनाउनमा सहयोग गर्न आम अभिभावकलाई अनुरोध गर्नुभयो । शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बालबालिकाहरुको शिक्षामा पहुँच पु¥याउनका लागि नियमित अनुगमन र आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य महाशाखाका प्रमुख ओम पि न्यौपानेले भौतिक विकाससंगै मानवीय विकास अपरिहार्य रहेको भन्दै बालबालिकालाई शिक्षामा पहुँचमा लैजानुपर्ने बताउनुभयो ।

युनिसेफका प्रकाश कैनीले सरकारसंगको समन्वयमा विपन्न बालबालिकालाई सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभउको थियो ।

तपाईंको प्रतिक्रिया