वर्गीय मुद्दाकाे घाँटी निमाेठ्न खाेजिंदैछ कमरेड…

 जेठ २१, २०८०

नेपाल बहुजातिय,वहुभाषिक,बहुसांस्कृतिक,बहुभाैगाेलिक अनेकन विविधता भएकाे मुलक हाे। सँगै नेपालकाे संविधानले बहुलवादलाई पनि स्विकार गरेकाे छ। अनेकन तत्वबाट समाज निर्माण भएकाे हुन्छ भन्ने स्विकार गर्नु नै बहुलवाद मान्नु हाे।यसले अनेक वाद वा सिद्धान्तकाे पनि स्विकार गर्छ।नेपालमा खास गरी चिन्तनका हिसाबले पूर्विय दर्शनकाे प्रभाव हरेक समुदायमा परेकाे छ।यसकाे ज्वलन्त उदाहरण अहिंसालाई अँगाल्ने र सबै समुदाय शान्तिपूर्ण वातावरणमा मिलेर बस्ने,कसैमाथि अत्याचार नगर्ने र कसैकाे बाह्य अत्याचार नसहने नेपाली समाजकाे चिन्तन नै हाे।

एकढिक्का भई सबै समुदाय मिलेर हिजाे पनि देशलाई कसैकाे गुलाम बन्न नदिएकाे ईतिहास हामी सामु छ।नेपाल र नेपालीकाे यही खास विशेषतालाई खुईल्याउन लागी पर्नु विस्तारवाद र साम्राज्यवादका लागी हितकर छ।

नेपाल लामाे समयसम्म एकात्मक सामन्ति शत्ताकाे मारमा पिल्सीएकाे नमिठाे यथार्थ हाम्राे ईतिहास बनेकाे छ।हामी त्याे कालरात्री पार गरेर आज जनताकाे शासन चल्ने एउटा सुन्दर र उत्तम व्यवस्था “लाेकतान्त्रिक गणतन्त्रमा” छाैं।याे व्यवस्था प्राप्तिमा हिजाे, वर्गीय उत्थाननै आवश्यकता हाे तर शान्तिपूर्ण तवरले संसदिय व्यवस्थामा रहेर जनताकाे मन र मत जितेर समाजवादी व्यवस्था हुँदै साम्यवादमा पुग्न सकिन्छ भन्ने विश्वास गर्ने कम्युनिष्ट पार्टी नेकपा एमाले,हिंसात्मक युद्धमा विश्वास गरेर बुलेटद्वरा शत्ता कब्जा गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भन्ने तर अन्तमा फेरि त्यही छाेडेकाे कम्युनिष्ट पार्टी नेकपा माओवादी,नाममा प्रजातन्त्र तर यथार्थमा उदार पूँजीवादमा विश्वास गर्ने नेपाली काँग्रेस र अन्य दल सँगै मिलेर आफ्नाे भूमिका निर्वाह गरे।

द्वन्दात्मक भाैतिकवादलाई अँगाल्ने र वर्ग नै उत्पीडक र उत्पिडीतकाे मूलभूत कारण मान्ने कम्युनिष्ट।यसै मान्यताले गर्दा उत्पिडनबाट मुक्ति दिलाउन कम्युनिष्टहरुले विभिन्न किसिमका आन्दाेलन छेडे हिंशात्मक र अहिंशात्मक।नेकपा(एमाले)पार्टीले शसस्त्र सेना विना पनि जनताकाे मन जितेर सबैखालका उत्पिडनबाट नेपाली समाजलाई मुक्ति दिलाउन सकिन्छ भन्ने विश्वास सहितकाे सिद्धान्त अंगाल्याे”जबज”।

जतिबेला यस्ताे बिचारले नेपालमा प्रशस्त स्थान पाएर नेपालीकाे मन जित्दै थियाे ठिक त्यही समयमा अर्काे कम्युनिष्ट पार्टी जन्म्याे नेकपा माओवादी जसले शसस्त्र द्वन्दबाट राज्य शत्ता कब्जा गरेर सर्वहाराकाे अधिनायकत्व कायम गर्न सकिन्छ भन्ने मान्यता राख्याे।किन र कहाँबाट आयाे याे..? यसकाे रहस्य समयले खुलाउँदैछ।करिव १० बर्ष यही कथित जनयुद्धको भूमरीमा फस्याे नेपाल।त्यही प्रायाेजित कथित जनयुद्धकाे बेलामा नै नेपालमा एउटा बीस वृक्ष राेपिएकाे थियाे,जातीय राज्यकाे अवधारणा।एकप्रकारले भन्न सकिन्छ कि वर्गीय मुद्दाबाट उतिबेलानै माओवादी पार्टी धेरै टाढा भागीसकेकाे थियाे किनकी खासमा याे जनताकाे मुक्तिका लागी भएकाे आन्दाेलननै थिएन।याे त प्रभुकाे ईसारामा उनकै हितमा नेपालकाे ध्वँस चाहने तत्वहरुले चलाएकाे विध्वंस न थियाे।नेपाल वास्तवमा याे १० बर्षे ध्वंसात्मक आन्दाेलनका कारण धेरै पछाडी पर्याे।

आज बडाे दुःखका साथ भन्नू पर्छ कि उतिबेला राेपेकाे विष वृक्षले यतिवेला आँकुरा फाल्दै छ।याे बढ्ने क्रममा छ।शान्तिपूर्ण तवरले बसेकाे नेपालका विभिन्न जातजातका विचमा विग्रह ल्याउने काेशिस हुँदैछ।दलकाे नाम जेसुकै हाेला,दल खाेल्ने छुट पनि भयाे ल तर क्षेत्रिय र जातिय मुद्दामा केन्द्रित दललाई,विखण्डनका तरंगहरुलाई सरकारबाटै अनेक शंरक्षण प्रदान भईरहेकाे देखिन्छ।याे बिषय नेपाली समाजकालागी सुखद हुने संकेत कसैगरेपनि भेटिंदैन।सबै तिलांजली दिएर, यस्तै दलकाे आडमा केही समय शत्तामा टिक्ने अभिलासा माओवादीलाई पलाएकाे छ।यिनीहरुलाई शत्तामा टिकाएर आफ्नाे अभिष्ट पूरा गर्ने प्रभु पनि मख्ख छन् र यिनीलाई साथ र हाैसला प्रदान गरिरहेका छन्।एकदिन नेपाल आफ्नाे हातमा पर्ने दिन कुरेर प्रभुहरु ढुकेका छन्।

ए!नेपालका उत्पिडीत जात जातिका आमाबुवा,दाजुभाई दिदिबहिनीहरु समयमै सचेत बनाैं।हाे हामी सामु प्रसस्त पीडा छन् तर यी पीडाहरुकाे मलम एक जातकाे बाहुल्यता वा राज्य वा एकता हुँदै हाेईन।हाम्राे एकता वर्गका अाधारमा हुनुपर्छ।पक्कै पनि हाे सामन्ति शत्ताले जातलाई अछुत बनाएर मान्छेले मान्छेलाई जातका आधारमा विभेद गर्ने संस्कारकाे पनि विकास गरायाे जसका कारण कथित तल्लाे जात भनिमाग्नेले आफ्नाे नियतिलाई दाेष दिंदै,कुनै पूर्व जन्मकाे सरापले तल्लाे जातमा जन्मलिनु परेकाे ठानेर चुपचाप सहेर बसे र उसकाे शत्ता लामाे समय टिकिरह्याे।उसले गरीब हुनुमा पनि जातलाई नै दाेषी देखेर बसिरह्याे बिचरा।हामी जातिय भेदभाव जस्ताे कुसंस्कारका बाछिटाहरुसँग आज पर्यन्त लड्नै पर्ने छ शभ्य समाज निर्माणका लागी।

दलित आन्दाेलन राेकिएकाे छैन र राेक्नु पनि हुँदैन।बरु याे आन्दाेलनमा भएका अस्पस्टतालाई चिर्न जरुरी देख्छु म।कतिपय साथीहरु याे आन्दाेलन जातीय विभेद विरुद्धकाे आन्दाेलन मात्र हाे ठान्नुहुन्छ त्यस्ताे हाेईन याे वर्गीय आन्दाेलन पनि हाे।दलित शब्दले दलिएकाे वा शाेषित पिडीत भन्ने जनाउँछ। यसरी बुझ्दा यथार्थमा उपल्लाे वर्गले हाे हामीलाई शाेषण गर्ने जात त देखाईएकाे कुरा मात्र हाे।माथि उल्लेख भएझैं।धेरै धन हुने,अभिजात वर्गले हाे हामीलाई थिचेकाे।गरिब व्राह्मण पनि हामी सँग मिलेकाे हुन्छ नी समाजमा।पैसा हुनेले पैसा नहुने माथि शाेषण गर्छ।हामीलाई जातिय र क्षेत्रीय मुद्दामा बाँडेर लडाउन भिडाउन खाेजिदैछ र नेपाल र नेपालीकाे एकतालाई खण्डीत पार्न खाेजिदैछ।यसाे हुँदा हामी कमजाेर हुनेछाैं र एकदिन हाम्राे नेपाली भन्ने पहिचान गुम्नेछ।

वर्गीय पक्षधरताकाे आन्दाेलन विना शाेषित पिडीतकाे कदापी उत्थान हुन सक्दैन।किन वर्गीय मुद्दा छाेडेर जातीय राज्यकाे विष रापेकाे कमरेड..?जब सिद्धान्त,मूल्य र मान्यताबाट नै माओवादी च्युत भयाे यस्ताे पार्टी वा यसकाे नेतृत्वमा अहिले बनेकाे सरकारले कसरी नेपाल र नेपालीकाे उत्थान गर्न सक्छ बताउनुस कमरेड..?के माओवादी पार्टी कम्युनिष्ट रहिरहन सक्याे अब..?

जानी नजानी यस्ताे विष हामी सबैकाे दिल दिमागमा पनि घुस्दै छ वा भनाैं जवरजस्ति घुसाउन खाेजिदैछ।एमाले पार्टीले अहिले सम्म यस्ता गलत मान्यतालाई चिर्दै आएकाे देखिन्छ।सैद्धान्तिक अस्पस्टताका कारण कतिपय समयमा पार्टी सदस्यहरुमा विचलन शुरु हुँदै गरेकाे संकेत एमालेमा पनि देखिन्छ।

जसरी संगठन सुदृढिकरणमा एमाले लागेकाे छ अब याे पार्टी सँग पनि थाेरै समय मात्र छ आफ्ना सदस्यहरुलाई बिचारमा स्पस्ट पार्ने र अडिग बनाउने।समाजमा कसैले विष छरिदिएकाे छ यसबाट समाज जाेगाउन बहुतै कठिन छ।कमरेड खुट्टा लुला नगराएर,निहित स्वार्थ त्यागेर,क्षणीक लाभ भुलेर उभिनु पर्छ एमाले कार्यकर्ता।वर्ग विश्लेषण गराैं र सबै प्रकारका उत्पिडनबाट समाजलाई मुक्ति  दिलाऊँ।

लेखक : माधव वली 

उहानेकपा एमालेकाे नेता तथा तुलसीपुर १८ का वडाध्यक्ष हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया