बन्धुरे सोतामा पुल बन्दै, स्थानीय भन्छन् – ‘बर्षौपछिको सपना पुरा हुन थाल्यो’

 चैत ०२, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को कंटाहा र नवलपुरको सिमानामा रहेको बन्धुरे सोताले वर्षायाममा आवतजावत गर्न निकै सकस पथ्र्यो । त्यो सोतामा पुल निर्माणका लागि २०४८ सालमै स्थानीयले आश्वासन पाएका थिए । त्यो समयदेखि नै केन्द्र र स्थानीय निकायको निर्वाचन भए जम्मै निर्वाचनमा आश्वासन मात्रै पाए ।

देश संघीयतामा गयो संघ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो तर स्थानीयको आसा आसामै सीमिति रह्यो । जब स्थानीय तहको दोस्रो पल्टको निर्वाचनबाट मात्रै बन्दुरे सोतामा पुल निर्माण सुरु भयो । स्थानीय नेत्रमणि लामिछानेले आश्वासन पाएको ३२ वर्षपछि मात्रै बन्दुरे सोतामा पुल बन्न लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यस पटक भने स्थानीयवासीको माग पूरा भएको भन्दै आफूलाई निकै उत्साहित तुल्याएको बताउनुभयो ।

यसैबीच पुल शिलन्यास कार्यक्रम आज सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता एव नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले अधिकांश वडामा पालिका सरकारकै बजेटमा पुल निर्माण सम्पन्न हुने र निर्माणकै चरणमा रहेको बताउनुभयो । नगरप्रमुख खड्काले अब पुल निर्माणकै लागि संघ र प्रदेश सरकारकै मुक ताक्नुपर्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो ।

गत पुसमा बन्धुरे सोता निरीक्षणमा वडाध्यक्ष सहित स्थानिय

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले स्थानियको समस्यालाई समाधानका लागि पुल निर्माणको योजना अघि सारिएको बताउनुभयो । वडाका विभिन्न स्थानमा स्थानीय सरकारकै बजेटमा पुल निर्माण सुरु गरिएको समेत उहाले बताउनुभयो । पुल निर्माणसँगै आवत जावतमा निकै सहज हुने स्थानियहरु बताउछन । कार्यक्रमको सञ्चालन वडा सचिव पदम भण्डारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया