तुलसीपुर उद्योग वाणिज्य संघको ३०औं साधारणसभा
तुलसीपुर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी रानाले देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको बताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभालाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधार गर्न व्यवसायीका कुरा राज्यले सुन्नुपर्ने बताउनुभयो ।
अझै पनि हामी सुध्रिएनौ भने हाम्रा कुरा राज्यले सुनेन भने व्यवसाय अझै खस्किन्छ । अहिले उत्पादन ५० प्रतिशत मात्रै छ । त्यसमा पनि उपभोक्ता छैनन् । एयरपोर्टमा गएर हेर्ने हो भने दैनिक २७/२८ सय युवाहरु विदेश गइरहेका छन् । कलेजमा पढ्ने विद्यार्थीहरू छैनन् । अनि कसरी सुध्रिन्छ अर्थतन्त्र ?’ रानाले भन्नुभयो । कुरा मात्रै गरेर देशको अर्थतन्त्रमा सुधार नहुने बताउँदै उहाँले पर्यटन, उर्जा / आइटी क्षेत्रको सुधारका लागि राज्यले विशेष योजना हुनुपर्ने रानाले बताउनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले निजी क्षेत्र र सरकारको सहकार्य बिना तुलसीपुरको समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । पर्यटन, पूर्वाधार, शिक्षा सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्रको विकासका लागि राम्रो सम्भावना रहेको बताउँदै मेयर खड्काले सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज कर्णिकारले सामाजिक सञ्जालले समाजलाई अँध्यारो तर्फ धकेलेको बताउनुभयो । सामाजिक सञ्जालमा भ्रमपूर्ण खबरहरू आउने गरेकै कारण यसले सामाजिक विखण्डन निम्त्याएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादीका मोहन थापा, राप्रपाका दामोदर भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, कान्तिपुरका उपसम्पादक दुर्गालाल केसी, डाक्टर किशोर खत्री, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विरु रावत लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतलाई सम्मान गरिएकाे छ । विगत १९ वर्षदेखि आर्थिक, व्यवसायिक, सामाजिक क्षेत्रको विकास, एवम् उन्नयनमा आमसंचारको माध्यमबाट सूचना तथा समाचार सम्प्रेसन गरी संघको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै बस्नेतलाई सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा रासस दाङका प्रमुख नारायाणी रजौरे, पत्रकार बंशीकुमार शर्मालाई सम्मान गरिएको थियो भने पत्रकार बालाराम खडका, एकराज भण्डारी र विकास डाँगीलाई पुरस्कृत गरिएको थियो ।
वाणिज्य संघका अध्यक्ष विनील केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव केशव केसीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



तपाईंको प्रतिक्रिया