मुना बोर्डिङ स्कुलद्वारा निःशुल्क योग विज्ञान शिविर सञ्चालन

तुलसीपुर । तुल्सीपुर १५ मलुवार दाङमा अवस्थित मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन भएको छ। प्रशिक्षक दुर्गाप्रसाद भण्डारीले योगले मानिसको शरीर र मनलाई जोड्ने भएको कारणले गर्दा पनि विद्यार्थीहरूले योग सिक्दा अझै प्रभावकारी हुने बताउनुभएको थियो। साथै उहाँले अहिले पछिल्लो अवस्था मानिसहरु रोगी भइराखेको कारणले योग गर्दा मानिस स्वस्थ फुर्तिलो र तन्दुरुस्त हुने कुरामा जोड दिनु भयो । प्रशिक्षक यमराज सेजुवालले मुना इङ्लिस बोर्डिङ स्कुलमा योगा सिक्नेको सङ्ख्या उल्लेख्य मात्रामा भएकोमा खुशी व्यक्त गर्नुभयो ।
तुल्सीपुर १४ भोजपुर निवासी शिव रेग्मीले योग सिक्न लागेपछि सुरुका दिनहरूमा अलि असजिलो भएको जिउ दुखेको महसुस भएपनि अहिले शरीर फुर्तिलो हुँदै गएको र आफू निरोगी हुँदैछु भन्ने खालको महसुस भएको बताउनु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले योगाले शरीर मन र इन्द्रियलाई एकाग्र बनाउँछ भन्दै अभिभावक र विद्यार्थीहरूबाट योग शिविर सञ्चालन गर्न माग भएपछि योग शिविर सञ्चालन गरिएको बताउनुभयो ।
यसलाई निरन्तरता दिने कोसिस भइराखेको पनि उहाँले बताउनु भयो। विद्यालयका प्रधानाध्यापक निर्मल आचार्यले योगले आनन्दपूर्वक जीवन बिताउने कला सिकाउँछ र यो शरीर र मनको संयोजन हो यसर्थ यो हामी सबैको लागि आवश्यक भएकाले यसलाई विशेष जोड दिएर विद्यालयले सञ्चालन गरेको बताउनुभयो । योग शिविरमा करिब १५० जनाको सहभागिता हुनेगरेको विद्यालयका कार्यक्रम संयोजक जीवन केसीले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया