लैँगिक हिंसा विरुद्धको अभियान सुरु

 मङि्सर १०, २०८२

तुलसीपुर । दाङको तुलसीपुरमा लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक बर्ष नोभेम्बर २५ तारिखदेखी डिसेम्बर १० तारिखसम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइने लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखाको आयोजना तथा तुलसीपुरका सम्पुर्ण सरोकारवाला संघसस्थाहरुको समन्वयमा भएको सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख टिकाराम खड्काले पछिल्लो समय हिंसाका स्वरुप परिवर्तन हुदै गएको बताउनुभयो ।

विभिन्न हिंसाकै कारणले गर्दा धेरै मानिसले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै उहाँले यसमा सबैले आ–आफ्नो तर्फबाट हिंसा न्युनिकरणमा भुमिका खेल्नुपर्ने बताउनुभयो । विगतको तुलनामा अहिले हिंसाहरु बढिरहेको भन्दै नगरप्रमुख खड्काले युवायुवतीहरुले विशेषगरी गाउँ समाजमा सचेतना बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले पहिल्लो समय बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि हिंसा बढिरहेको भन्दै सामाजिक सञ्जालको सही प्रयोग गर्न आग्रह गर्नुभयो । विशेषगरी प्रत्यक नागरिकले आ–आफ्नो घरबाटै हिंसा नगर्ने प्रण गरेमा यस्ता खाले हिंसाहरु स्वतह घट्दै जाने उहाँको भनाई छ ।

कार्यक्रममा मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, बाल अधिकारकर्मी, सामाजिक अभियान्ता, जनप्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा केही विद्यार्थीहरुले ‘‘हिंसा निम्त्याउने सबै क्रियाकलाप बन्द गरौँ, लैँगिक हिंसा अन्त्य गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, लैँगिक हिंसा अन्त्यका लागी सबै जुटौँ, कोही नछुटौँ, कुरा होइन काम गरौँ’’ लगाएतका नारा लेखिएका विभिन्न प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकाश शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया