चौसट्ठी लाख नयाँ राहदानी छापिने

 साउन १६, २०८२

काठमाडौँ । दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छापिने भएको छ । राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो । प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसलाई एक अर्ब ५५ करोडमा दिइएको छ । प्याकेज २ को ठेक्का पनि जर्मनीकै भेरिडास कम्पनीलाई छ अर्ब ११ करोडमा प्रदान गरिएको छ । दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौताको तयारी भएकोमा प्याकेज २ को भेरिडाससँग सोमबार हस्ताक्षर भएको विभागले जनाएको छ । प्याकेज १ को कम्पनीसँग एक/दुई दिनभित्र सम्झौताको तयारी छ ।

विभागका महानिर्देशक तीर्थ अर्यालले पहिलेको कम्पनीको सम्झौता अवधि सकिएकाले नयाँ छपाइका लागि दुई कम्पनी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको जानकारी दिनुभयो । जर्मनीकै दुई वटा कम्पनी छनोट हुँदा हाल काम गरिरहेको कम्पनीले नपाएपछि पुनरवलोकसँगै विवादको अवस्था पनि सिर्जना भएको थियो ।

सन् २०२० मा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट भएको आइडिमियाले पटक पटक म्याद थप गरेर ५० लाखभन्दा बढी राहदानी छापिसकेको छ । थोरै मात्र राहदानी मौज्दात रहेकाले छिटो नयाँ राहदानी छपाइ गर्नुपर्ने दबाब विभागलाई आइपरेको छ । सर्त अनुसार सम्झौता गरेको २१० दिनभित्रमा छनोट भएका कम्पनीले राहदानी छपाइ गरेर विभागलाई दिनुपर्ने हुन्छ ।

तपाईंको प्रतिक्रिया