एभरेस्ट बैंकद्वारा माध्यमिक विद्यालय प्रतापकोटलाई स्मार्ट बोर्ड र फर्निचर सहयोग
तुलसीपुर । एभरेस्ट बैंक लिमिटेड, शाखा कार्यालय तुलसीपुरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर–३, आम्बासस्थित श्री माध्यमिक विद्यालय प्रतापकोटलाई स्मार्ट बोर्ड तथा फर्निचर सहयोग गरेको छ। २०८३ साल कार्तिक १८ गते विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकले उपलब्ध गराएको स्मार्ट बोर्ड तथा फर्निचर विद्यालयलाई हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एभरेस्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख निरञ्जन कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बैंकको तुलसीपुर शाखा प्रमुख सुरज केसी, घोराही शाखा प्रमुख गणेशप्रसाद घिमिरे तथा तुलसीपुर शाखाका कर्जा सहायक ज्योतिप्रसाद रोकाको उपस्थिति रहेको थियो। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
बैंकबाट प्राप्त स्मार्ट बोर्डले शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुग्ने विद्यालयले विश्वास लिएको छ। त्यस्तै, फर्निचर सहयोगले कक्षाकोठाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै विद्यार्थीका लागि सहज सिकाइ वातावरण निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। विद्यालयका प्रधानाध्यापक टेकबहादुर विकले स्मार्ट बोर्डको प्रयोगले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको उपयोग बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा एभरेस्ट बैंकप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी सहायक प्रधानाध्यापक सुशील गिरीले फर्निचर सहयोगले कक्षाकोठाको व्यवस्थापन र विद्यार्थीको सिकाइ वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले बैंकको यस सहयोगले शैक्षिक तथा भौतिक वातावरण सुधारमा टेवा पुग्नुका साथै शैक्षिक संस्था र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।



तपाईंको प्रतिक्रिया