वडाध्यक्ष कप फुटबलको फाइनलमा मोतीपुर एफसी र कटाहा युथ एफसी भिड्ने

 ४ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर–११ मा सञ्चालित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा मोतीपुर एफसी र कटाहा युथ एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा कटाहा युथ एफसीले उरहरीलाई १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै, अर्को सेमिफाइनलमा मोतीपुर एफसीले दङ्गिशरण युथ क्लबलाई २–२ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

प्रतियोगिताको उपाधिका लागि भोलि मोतीपुर एफसी र कटाहा युथ एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ४५ हजार रुपैयाँ र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, विजेता तथा उपविजेता टोलीलाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

खेल क्षेत्रको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकाससँगै नयाँ खेल प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तपाईंको प्रतिक्रिया