पत्रकारलाई अपराधी करार गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघ दाङको आपत्ति

 ० मिनेट अगाडि

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिताप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।महासंघले मंसिर ५ गते घोराहीमा आयोजित एक कार्यक्रममा डीएसपी केसीले कुनै कानुनी प्रक्रिया, उजुरी वा मुद्दा नै नपरेको अवस्थामा बिना प्रमाण मनोगत ढंगले कसैलाई अपराधी करार गर्ने र सिंगो पत्रकारिता जगतलाई नै आरोपित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका सचिव जे.एन. सागरद्वारा जारी प्रेस विज्ञप्तिमा कानून कार्यान्वयनको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीबाट पत्रकारहरूलाई लाञ्छित गर्ने गरी सार्वजनिक अभिव्यक्ति आउनु दुःखद र खेदजनक भएको उल्लेख छ ।

सार्वजनिक मञ्चबाट समग्र पत्रकारिता क्षेत्रको हुर्मत लिने र आम नागरिकमाझ पत्रकारिता पेशाप्रति अविश्वास पैदा गर्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै महासंघले सम्बन्धित प्रहरी अधिकारीलाई आफ्नो अभिव्यक्ति सार्वजनिक रूपमा सच्याउन आग्रह गरेको छ ।

महासंघले समयमै अभिव्यक्ति नसच्याई माफी नमागे थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ । प्रहरी संगठनको प्रतिष्ठा जोगाउन, पीडित नागरिकलाई न्याय दिलाउन र कानुन कार्यान्वयनका हरेक कदममा साथ दिन महासंघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै पत्रकारबाट कानुनविपरीत कार्य भएको पाइए कानुनी दायरामा ल्याउनुपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन महासंघले सहयोग गर्ने पनि स्पष्ट पारेको छ ।

महासंघले बिना आधार र प्रमाण सिंगो पत्रकारिता पेशालाई नै आँच पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति पुनः खेद व्यक्त गर्दै तत्काल आत्मालोचनासहित अभिव्यक्ति सच्याउन सम्बन्धित प्रहरी अधिकारीसँग माग गरेको छ ।

तपाईंको प्रतिक्रिया