पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो,एलपी ग्यासको मूल्य यथावत

 माघ ०६, २०७७

काठमाण्डाै ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिकरुपमा निगमलाई ४९.८८ करोड रुपैयाँ घाटा हुने र घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया